अनुभूति

सृजना अर्याल ९ आश्विन २०७७, शुक्रबार १५:५० मा प्रकाशित ( साल अघि) ८०९ पाठक संख्या

आनन्दको सार कहाँ छ साथी ?
भन्छन् सबै पीर पर्‍यो ममाथि
जो भेटियो देख्छु झनै टुटेको
खुसी छ कस्को घरमा लुकेको ?

 

यो शान्ति होला सपना कि साँचो
भेटिन्छ केमा जब पर्छ खाँचो
कि फल्छ रोपिन्छ? कहाँ छ खेती ?
खै हर्ष भाग्यो र कहाँ मदेखि

 

सौभाग्यको बोट कहाँ हुँदो हो ?
झार्ने बटुल्ने नि कला हुँदो हो
कि स्वर्ण झैँ लुक्दछ वालुवामा !
भेटिन्छ खोज्दा कि नदी कुवामा ?

 

भेटिन्न खोज्दा पनि यत्रतत्र
केलाउँदा भेटिनँ पत्र-पत्र
यता हेर्‍यो दु:ख छ खात-खात
उता सुन्यो फेरि उही छ बात

 

भने कसैले भ्रममा नपर्नू
बेकारको झन्झट हो नगर्नू
खोज्दै हिँडेथेँ म त वारपार
खुसी रहेछन् मनमा हजार

कवि सृजना अर्याल साहित्य क्षेत्रमा कलम चलाउनुहुन्छ ।


सम्बन्धित खबरहरु