अन्तिम प्रश्न तिम्रो सत्तासित

सावित्रा पाण्डे २ आश्विन २०७७, शुक्रबार ०८:१५ मा प्रकाशित ( साल अघि) ८४८ पाठक संख्या

हो, आकाशमा स्वच्छन्द उडेका
मालचरीका बगाल देखेर
कैयौंपल्ट मैले ईष्या गरेँ हुँला,
असारका भुवादार बादलसगैँ
नील गगनमा बतासिएँ हुँला,
झरी बनेर आफ्नै हृदयको आँगनमा
बर्सिएँ पनि हुँला,
पहाडी वनमा फुलेका लालीगुँरास हेरेर
एक्लै एक्लै मुस्कुराएँ हुँला
यति गर्दा म कसरी उत्ताउली भएँ ?

 

नदीको अनवरत वहावसगैँ
हामी सगैँ बहकिएका हौँ,
भावनाको अथाह प्रेमसागरमा
सगैँ डुबुल्की मारेका पनि हौँ,
प्रेमको अन्तिम समर्पण ठानेर
मैले सम्पूर्णतः अर्पित गरेकी हुँ आफूलाई
जसरी अपर्ण हुन्छ चरु,हवि यज्ञ कुण्डमा
हो, हामीले सगैँ भोगेका हौँ
यौवनको आगो पानी, हुरी र बतास
यति गर्दा तिमी मर्द र म पतिता
कसरी भएँ ?

 

फरक कहाँ पर्यो हाम्रा भोगाइहरूमा  ?
विरोधाभास कहाँनेर आयो
चिन्तनका धरातलहरूमा ?
तिमीले देखेको फूललाई
मैले फूलबाहेक पनि केही देखेकी हुँ,
तिमीले बुझेको जीवनलाई
मैले जीवनबाहेक पनि केही बुझेकी हुँ,
कहिले तिमी तलाउझैँ जम्दा
नदी बनेर बगेकी हुँ,
तिमी गृष्म बनेर पोलिरहँदा
शिशिर बनेर सेकेकी पनि हुँ,
यसरी नै मिलाएका हौँ हामीले
जीवनको जोड घटाउ
अनि सगैँ निर्माण गरेका हौँ
हामी उभिएको धरातल
र सगैँ रचना गरेका हौँ
जीवनको सुन्दर गीत
तर पनि आज तिमी नायक र
भुइँमान्छे कसरी भएँ ?
ओ नायक !
आज अन्तिम प्रश्न गर्न मन छ
तिम्रो सत्तासित
सधैँसधैँ तिम्रो लेखाइ दर्शन

मेरो गन्थन कसरी भयो ?

रचनाकार सावित्रा पाण्डे कवि तथा समालोचक हुन् ।


सम्बन्धित खबरहरु