के हाे मलमास ? मलमासमा के गर्नु शुभ, के अशुभ ?

सुजन तिमल्सिना १ आश्विन २०७७, बिहीबार १४:२६ मा प्रकाशित ( साल अघि) ८०६ पाठक संख्या

हरेक तीन बर्षको फरकमा पर्ने मलमास यस बर्ष ज्योतिष शास्त्रका अनुसार २०७७ साल असोज २ गतेबाट मलमास सुरु हुदै छ । मास अर्थात् महिना ।  खासमा यसको नाम मलमास नभएर अधिकमास पनि हो । यसलाई पुरुषोत्तम मासको नामले पनि जानिएको पाइन्छ ।

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन ।

हरेक मासको देवताका नामः—

१. बैशाख – मधुसुदन/मोहिनी

२.जेठ – त्रिबिक्रम/पद्याक्षी

३.आषाढ – वामन÷कमला

४.श्रावण – श्रीधर/कान्तिमती

५.भाद्र – हृषिकेश/अपराजिता

६.असोज – पद्यनाभि/ईषा

७.कार्तिक – दामोदर /राधा

८.मंसिर – केशव/बिशालाक्षी

९.पौष – नारायण/लक्ष्मी

१०.माघ – माधव /रुक्मिणी

११.फाल्गुन – गोविन्द /धात्री

१२. चैत्र – विष्णु/रमा

यस प्रकारका रहेका छन् । तर,अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित रहेको मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास कसरी बन्न पुग्यो भन्ने कथा दिइएको पनि पाइन्छ।

कथा अनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थालियो र यसबाट मलमासको निन्दा हुन थाल्यो । यो निन्दाबाट दुःखी भई मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख भगवान बिष्णुप्रति विनम्रताका साथ बिसायो । र बिष्णुले उसको मर्म बुझेर उसलाई गोलोक लिएर जानुभयो ।

गोलोकमा भगवान् श्रीकृष्ण विराजमान हुनुहुन्थ्यो र श्रीकृष्णले मलमासको व्यथा बुझेर उनलाई सान्त्वना दिँदै भन्नुभयो । ‘अब देखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषोत्तमका नामले प्रसिद्ध छु। तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले यत्रतत्र चिनिने छौ ।’ यस कथाका अनुसार मलमासलाई पुरूषोत्तम मासका नामले पनि जानिएको पाइन्छ ।

यसका साथै हरेक तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्ति पूर्वक जप,तप,ध्यान साधना तथा कुनै पनि राम्रा काम गर्छन् भन ती व्यक्तिलाई अन्य समयमा गरेको कर्मको फलको अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।

यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिनु भएको पाहिन्छ । यो दुर्लभ समयमा जसले स्नान,दान,पूजा आराधना,यज्ञअनुष्ठान एवं धर्म गर्छ भने उसले अत्यधिक पुण्य प्राप्त गर्दछ।

यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ। भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्रा गरेमा ठूलो पुण्य प्राप्ति हुने कुरा शास्त्रहरूमा बताइएको छ।

मलमासमा के गर्नु हुन्छ, के गर्न हुँदैन ?

-अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।

– मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्नु पनि शास्त्रीय दृष्टिले निषेध छ ।

-विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ ।

यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्ने सक्ने कुरा शास्त्रमा बताइएको छ ।

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा शास्त्रमा बताइएको छ ।


सम्बन्धित खबरहरु