किन हुन्छ महिला हिंसा ?

मनोज संजेल २३ भाद्र २०७७, मंगलवार १८:०७ मा प्रकाशित ( साल अघि) १०४४ पाठक संख्या

के हो महिला हिंसा ?
महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौदिक शोषण, दमन, यातना र दुर्वव्यहारलाई महिला हिंसा भनिन्छ । जसअन्र्तगत बलात्कार, घरेलु हिंसा, हत्या कुटपिट, बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बालविवाह, जबरजस्ती करणी र अन्य मानसिक तथा शारीरिक यातनादेखी महिलालाई अपहेलना महशुस हुने र धम्क्याउनेदेखी जिस्काउनेसम्मका घटनाहरु पर्दछन् ।

 

अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन्, जसलाई घरेलु हिंसा भन्ने गरिएको छ। दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ। श्रीमान्ले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन्। त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरू उत्तिकै पीडित हुने गरेका छन्।

कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरूमा दुव्र्यवहार एवं अपशब्दहरूको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रूपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ। पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन्। कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ। बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन्।

त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ। यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ। त्यस्तै रोजगारीका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन्।

 

महिला हिंसाको स्थिति
आजभोलीका सबै समाचार बुलेटिन र पत्रकारीता महिला हिंसाका घटनाले भरिएका छन् । यसले हाम्रो समाजमा महिलाहरु कति असुरक्षित छन् भन्ने कुरा पुष्टि गरिरहेको छ । महिला भएकै कारणले कतिबेबला कहाँ कुन हिंसाले कालो कोठरीमा पुग्छु भन्ने कुराको सन्त्रासमा बाँचिरहेका हुन्छन् । केही महिला हिंसाका घटनाले मात्रै पनि यो प्रष्ट हुन्छ । जस्तै : केही दिन अगाडि राजधानीमै २२ वर्षीय युवतीमाथि एसिड प्रहार, काभ्रेमा जेठाजुले बञ्चरो प्रहार गरि बुहारीको हत्या, ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित भागा वनमा ३९ वर्षीय गिता केसीको हत्या गरिएको अवस्थामा शव भेटियो । यस्ता घटनाहरु केवल प्रतिनिधि उदाहरण मात्रै हुन् । यी र यस्ता घटनाहरु हाम्रो समाजमा घटिरेहका हुन्छन् ।  तर १० प्रतिशत मात्रै यस्ता घटनाहरु बाहिर आउँछन् । बाँकी ९० प्रतिशत घटनाहरु घर वरपर दावव इज्जत र प्रतिष्ठामा आँच आउँछ भन्ने डर तथा चेतनाको अभावमा पनि यस्ता कतिपय महिला हिंसाका घटनाहरु बाहिर आउदैनन् । घरेलु हिंसापछि यौन हिंसा सबैभन्दा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ। त्यसो त महिलामाथि हुने हिंसा रोकथाम गर्न सरकारकै तर्फबाट भएका प्रयास कम भएको  छ।

संसदले पनि महिला हिंसा न्यूनीकरण गर्न, हिंसामा परेका महिलाहरुलाई सहयोग गर्न र बलात्कार जस्ता जघन्य अपराधबाट पीडित बालिकाहरुको व्यक्तित्व विकासका लागि पहल गर्ने सहितका विषय समेटिएको सङ्कल्प प्रस्ताव पारित गरेको थियो। यस्तै प्रदेश नम्बर २ ले ‘बेटी बचाउ बेटी पढाउ’ अभियान पनि सञ्चालन गर्यो । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अनेकन अभियानहरु चलाएका छन् । तर यस्ता अभियानको प्रभावकारिता भने देखिदैन ।

 

न्युनिकरण गर्न के गनुपर्ला ?
महिला हिंसा न्युनिकरण गर्न सर्वप्रथम आफै सचेत हुनुपर्दछ । महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको कमी हो । त्यसैले उनिहरुको अधिकार के हो, कहाँ र कसरी प्राप्त गर्न सकिन्छ, भन्ने कुराहरु सिकाउनुपर्दछ । जसको लागि राज्य र अन्य सरोकारवाला सबैले परिणममुखी योजना र कार्यक्रम ल्याउन जरुरी छ । जुन योजना कार्यक्रम शहर तथा सदरमुकाममा मात्रै बजेट सिध्याउन नभई समाजमा रहेका सबै महिलाहरुले महशुस गर्नेगरी हरेक गाउँको कुना कुना अनि घर घरमा पुग्न आवश्यक छ । जसका लागि महिलाहरुलाई हिंसाविरुद्ध वैचारीक तथा भौतिक प्रतिकार गर्नसक्ने बनाउनुपर्दछ ।

अन्यमा हाम्रो देशमा कानुन कतिपय कागजम मात्रै सिमित भएको र व्यवहारमा लागु नभएको पनि देखिन्छ । अब त्यस्तो नभइ जो दोषी हो उसलाई दण्ड दिन सकियो भने यस्ता घटनाहरु कम हुँदै जानछन् ।

लेखक मनोज संजेल शिक्षक तथा समाजसेवी हुन् ।

 


सम्बन्धित खबरहरु