आज: 

चिनियाँ ‘पब्जी’लाई टक्कर दिन भारतीय ‘फौजी’ आउँदै, यस्ताे छ विशेषता

ओके खबर २२ भाद्र २०७७, सोमबार ०८:११ मा प्रकाशित ( महिना अघि) २३७ पाठक संख्या

एजेन्सी । नेपालमा पनि लोकप्रिय रहेको भिडिओ गेम- प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स ‘पब्जी’ जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे व्यापक चासो देखिएको छ।

चिनियाँ कम्पनीले निर्माण गरेको ‘पब्जी’ एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन-कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ गेम ल्याउन लागेको बीबीसीले जनाएको हो।

‘फौजी’ (एफएयू: जी) नाम दिइएको उक्त गेम अक्टुबर महिनाको अन्त्यसम्ममा बजारमा ल्याउने कम्पनीले उद्देश्य छ।

कम्पनीका सह-संस्थापक विशाल गोन्डलले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै भने, “फियरलेस एन्ड युनाइटेड गार्ड्स (एफएयू: जी) उक्त गेमको पूरा नाम हो। उक्त गेमबारे केही महिनादेखि काम भइरहेको थियो। हामीले गेमको पहिलो लेवललाई गलवान घाटीमा आधारित बनाएका छौँ।”

गलवान घाटीमा चीन र भारतका सेनाबीच गत जुन महिनामा पहिलो पटक झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। त्यसयता नियन्त्रण रेखालाई लिएर दुई देशबीच तनाव चर्किएको हो।

सम्बन्धमा आएको तिक्तताबीच भारतीय सरकारले पब्जी सहित चिनियाँ कम्पनीले बनाएका ११८ वटा एपमा बुधवार प्रतिबन्ध लगाएको छ। भारतमा पछिल्ला केही वर्षमा उक्त गेम निकै लोकप्रिय थियो। जापानी फिल्म ब्याटल रोयलबाट प्रभावित भएर उक्त गेम बनाएको बताइन्छ। विश्वभर पब्जी खेल्नेहरूमध्ये २५ प्रतिशत भारतमा छन्। चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ताले पब्जी खेल्ने गरेको बताइन्छ।

भारतको भिडिओ गेम स्ट्रीमिङ साइट रूटर्सका प्रमुख कार्यकारी पीयूष कुमारले भने, “भारतमा पब्जी मात्र १७ करोड ५० लाख डाउनलोड भएका छन्। जसमा ७ करोड ५० लाख जति सक्रिय प्रयोगकर्ता छन्। अर्थात् चीनमा भन्दा भारतमा धेरैले पब्जी खेल्छन्।”

युवाहरूले उक्त गेम मन पराउने ठानिन्छ र भारतमा त्यसमाथि प्रतिबन्ध लगाइएपछि सामाजिक सञ्जालमा तीखो प्रतिक्रिया देखिएको छ। विश्वभरी सन् २०१९ मा गेमको बजार १६.९ अर्ब डलरको छ। जसमध्ये ४.२ प्रतिशत सहित चीन सबैभन्दा अगाडि छ। दोस्रोमा अमेरिका, तेस्रोमा जापान अनि त्यसपछि ब्रिटेन र दक्षिण कोरिया छन्।

भारतमा भिडिओ गेमको उद्योगको बिस्तार निकै तीब्र रूपमा भइरहेको छ तर अझैँ पनि त्यहाँ एक अर्व डलरभन्दा कमको बजार छ।

लकडाउनका बेला भारतमा मोबाइल गेम खेल्नेहरूको सङ्ख्या निकै बढेको तथ्याङ्कले देखाएका छन्। भारतमा अझैँ पनि अनलाइन गेम निर्माता निकै पछि रहेको बताइन्छ। तर फौजी नामको गेमका कारण त्यसका निर्माता चर्चामा छन्।
बीबीसी


सम्बन्धित खबरहरु