रुदै गोठमा पराल माथि गएर सुते‍‍…

पुजा शर्मा (प्रकृतिप्रेमी) १७ भाद्र २०७७, बुधबार १४:५८ मा प्रकाशित ( साल अघि) ८८० पाठक संख्या

समाजमा प्रचलित धेरै अन्धविश्वासका कारणले गर्दा महिनावारी भएको महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्ध भनियो । मेरो समाज मात्रै होइन, थुप्रै बन्देज एंव निषेध गर्ने व्यवहारहरु संसार भर मानिसहरुले गर्ने गरेका छन् । यस्ता व्यवहार महिनावारीको वास्तविक एवम् ठिक कारण थाहा नभएर विभिन्न काल्पनिक कुराहरुमा विश्वास गरी गर्ने गरेको देखिन्छ ।

करिब १४ बर्ष पश्चात म मा रजस्वला प्रक्रिया शुरु भयो । मलाई याद छ, मेरो पहिलो महिनावारी। अकस्मात मेरो बुट्टे जामामा रगतको टाटो देखेपछि मनमा बेस्सरी बेचैनी बढ्यो । घरमा आमा नभएकोले बैनीको सहयोगमा गोठमा पराल माथि गएर रुदै सुते।

 

“रजस्वला प्रकृया शुरु भएपछि महिलाको पाठेघरको भित्रि भागमा रगत र तन्तुहरु जम्मा भएर एउटा तह बनेको हुन्छ, अब तिमी आमा बन्न सक्छौ “। हजुरामा भन्नुहुन्थ्यो । यो मासिक प्रक्रिया हो र यसलाई महिनावारी पनि भनिन्छ । अब त्यो मन्दिर, भान्सा, ती ढुङ्गा जुन देउता मानेर रङ्याएका छुन हुदैन ।

महिनावारीको विषयमा यी सबै कुरा बुझेकी म, मेरो महिनावारीको समयमा कुनै मन्दिर जान, पुजा गर्न डराए । तर मलाई थाहा छैन त्यो पाप के हो, किन र कसरी लाग्छ ? यी प्रश्नहरुको जवाफ न मसँग छ, न हजुरामासँग नै ।

महिनावारी भएको वर्ष तिजमा, महिनावारी समयमा झुक्किएर कतै छोइएको पाप कटाउनका लागि ऋषि पञ्चमीको पुजा गर्नैपर्ने चलन ।
पण्डितबाजेले ऋषिपञ्चमीको महिमा सुनाए । “भगवान इन्द्रले आफुलाई लागेको ब्रह्महत्याको पाप स्त्रीको रजस्वलामा राखिदिएकाले हरेक महिना महिलाहरूमा रजस्वला भएको हो । रजस्वला नबारे महिलाले बाझी हुनु पर्छ, अर्को जन्ममा कुकुर्नी भएर जन्मनु पर्छ। त्यो समयमा झुक्किएर कतै छोइएको पाप कटाउनका लागि ऋषि पञ्चमीको पुजा गरे मेरो पाप मोक्ष भयो।

 

मैले मेरो मस्तिष्कले ठम्याउने बेलादेखि देखेको कुरालाई नै सहि मान्दै आएँ । मेरो समाज र परिवारले त्यो परम्परा पछ्याएको थियो र त्यो परम्पर पछ्याउनु मेरो परिवारको इज्जतको कुरा थियोे । महिनावारीलाई नछुने वा छाउको संज्ञा दिएर नछुने बार्ने परम्परा हाम्रो देशको शहर, गाउँमा प्रयाप्त छ। अझै पनि दिनहुँ किशोरीको ज्यान गएको खबर सञ्चारमाध्यममा आउँछ। त्यसो त छाउपडीको विरुद्धमा सरकारले ऐन, नियम नबनाएको पनि हैन ।

 

रजस्वला हाम्रो समाजको संस्कृति हो । फरक समुदायमा फरक संस्कृति र परम्परहरु रहेका हुन्छन् । त्यस्तै छ सुदुर पश्चिमका केहि जिल्लाहरुमा व्याप्त रहेको छाउपडी प्रथा । उसो त संस्कृतिको सम्मान गरेमा समाजमा उनीहरुले सम्मान पाउछन । म अहिले आफै खाना बनाउँछु, आफ्ना सबै काम म आफै गर्छु, महिनावारी हुँदा पनि, नहुँदा पनी ।

 

अब महिनावारीका विषयमा आवश्यक ज्ञान तथा महिनावारी कुनै देवताले दिएको श्राप होइन, यो त शारीरिक विकासको एउटा चरण हो भन्ने जस्ता कुरा सरल तरिकाले बुझाउनु जरुरी छ । मेरा बहिनीहरुको रजस्वला बसाई घरदेखि पर गोठमा होइन आमाकै न्यानो काखमा हुनेछ।

सबैभन्दा पहिले त मेरो मनभित्रको जबर्जस्त लादिएको अँध्यारो लाई उज्यालो तर्फ उन्मुख भए । म अबका मेरा भावी पुस्तामा, म माथि थोपरिएको जस्तो डर थोपर्ने छैन । अनि कसो नहोला र परिवर्तन ?


सम्बन्धित खबरहरु