महात्मा गान्धीको चस्मा लिलाममा रहेकाे खुलासा

ओकेखबर संवाददाता २६ श्रावण २०७७, सोमबार १७:४८ मा प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

एजेन्सी । यूकेमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको छ।

बीबीसीका अनुसार ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्रू स्टोका अनुसार गान्धीको चस्मा १५,००० पाउन्डमा बिक्री हुने अपेक्षा छन्।

आफ्नो कम्पनीको इतिहासमा उक्त चस्मा महत्त्वपूर्ण वस्तु भएको उनले बताए। उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मुर्छा परेको उनले बताए।

अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन्।

ती व्यक्तिका अनुसार उनको परिवारका एक व्यक्तिले सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा भेटेका थिए। त्यसपछि उक्त चस्मा आफ्नो परिवारको स्वामित्वमा आएको उनको भनाइ छ।

“हामीले मिति जाँच्यौँ। सबै कुरा मिल्यो, गान्धीले चस्मा लगाउन थालेको मिति पनि मिल्यो,” स्टोले भने। पावर धेरै नभएकाले उक्त चस्मा गान्धीले सुरुसुरुमा प्रयोग गरेको उनको अनुमान छ।

“गान्धी आफ्नो सामान अरूलाई दिने भनेर चिनिएका थिए।” चस्मा पत्रमञ्जूजामा राखिएको अवस्थामा फेला परेको थियो ।

स्टोका अनुसार उक्त चस्माप्रति विशेष गरेर भारतबाट धेरैले रुचि देखाएका थिए। तर भाग्यवश उक्त चस्मा आफ्नो हात परेको उनको भनाइ छ। आगामी अगस्ट २१ मा उक्त चस्माको अनलाइन लिलाम हुनेछ। -बीबीसी


सम्बन्धित खबरहरु