कसरी शुरू भयो नागपञ्चमी ? यी हुन् प्रचलित दुई कथा

ओकेखबर संवाददाता १० श्रावण २०७७, शनिबार ०६:२० मा प्रकाशित ( साल अघि) ६९९ पाठक संख्या

काठमाडौं । यसवर्ष साउन १० गते शनिवार नागपञ्चमी परेको छ ।

नाग पञ्चमीका बारेमा प्रचलनमा रहेका दुईवटा कथाहरू

कथा १
एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे ।

सन्तान नभएको दुःखमा परेकी उनी सासू, नन्द र जेठानीहरूको व्यंग्यवाण सहन नसकेर धुरुधुरु रुन्थिन् । उनका पतिले सम्झाउँथे, ‘सन्तान हुनु नहुनु भाग्यको अधीनमा छ । किन दुःखी हुन्छौ रु

उनी भन्थिन्, ‘सबैजना मलाई बाँझी भनेर जिस्काउँछन् ।’

पतिले भने, ‘संसारले त अनेक कुरा गर्छ नि । मैले तिमीलाई कहिल्यै कठोर वचन गरेको छैन क्यारे । तिमी मलाई ध्यान देऊ र तनाव नलिऊ ।’

पतिको कुरा सुनेर उनलाई सान्त्वना प्राप्त हुन्थ्यो । तर कसैले वचन लगाउँदा उनी रुन्थिन् ।

यसैगरी दिन बित्दै जाँदा नागपञ्चमी आयो । नागपञ्चमीको अघिल्लो रात चौथीमा उनले सपनामा पाँचवटा नाग देखिन् । तीमध्ये एक नागले उनलाई सम्बोधन गर्दै भने, ‘हे पुत्री, भोलि नागपञ्चमी छ । तिमी हाम्रो पूजा गर । त्यसपछि तिमीले सन्तान पाउनेछौ ।’

त्यसपछि उनले पाँचवटा नाग देखेको भएर पाँचै नागको आकृति बनाएर पूजा गरिन् । नागहरूलाई चिसो खानेकुरा मन पर्ने भएकाले उनले काँचो दूध चढाइन् ।

यसरी नागलाई पूजा गरेको नौ महिनापछि उनलाई सन्तानलाभ भयो ।

कथा २
कुनै गाउँमा एक किसान परिवार बस्थ्यो । किसानका दुई छोरा र एक छोरी थिए । एक दिन किसानले हलो जोत्दाखेरी नागका तीन बच्चाहरू त्यसमा किचिएर मरे ।

नागिनले पहिला त धेरै विलाप गरिन् अनि पछि आफ्नो सन्तानको हत्या गर्ने व्यक्तिसँग बदला लिने संकल्प गरिन् ।

राति आएर नागिनले किसान, उसकी पत्नी र दुवै छोरालाई डसिन् । छोरी चाहिँ मामाघर गएकीले बचिन् ।

भोलिपल्ट हल्लाखल्ला भएपछि मामाघरबाट छोरी आइन् । नागिन पनि उनलाई डस्नका लागि त्यहाँ आइपुगिन् । नागिनलाई देखेर छोरीले दूधको कचौरा अघि राखेर क्षमाप्रार्थना गरिन् ।

त्यसपछि नागिन प्रसन्न भएर मातापिता र दुवै भाइहरूलाई पुनर्जीवित गरिदिइन् । त्यो दिन श्रावण शुक्ल पञ्चमी तिथि परेको थियो । त्यही भएर नागहरूको कोपबाट बच्नका लागि यस दिन नागहरूको पूजा गरिन्छ ।


सम्बन्धित खबरहरु