लकडाउन अन्त्य गर्ने सरकारकाे अपरिपक्व निर्णय, संक्रमण बढ्ने खतरा : डा. पाण्डे

डा. रवीन्द्र पाण्डे ६ श्रावण २०७७, मंगलवार २१:४९ मा प्रकाशित ( साल अघि) ६३३ पाठक संख्या

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ । कोरोना संक्रमणको समुदायमा व्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । व्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ ।

देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण व्यापक फैलिएको तथा नेपालसंग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ ।

परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको व्यवस्थापन गर्नुपर्नेमा विज्ञसंग पर्याप्त छलफल नगरि लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर विद्यामान छ । सिमाना प्रभावकारी ढंगले शिल नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा विद्यामान छ ।

हामी आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्कंदा सहि तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दुरी कायम गर्ने, आबश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुरक्षा सतर्कता अझै बढाउन जरुरी छ ।


सम्बन्धित खबरहरु