कोरोना लाग्दैमा मृत्यु हुँदैन : डा पाण्डे

डा. रवीन्द्र पाण्डे ३१ बैशाख २०७७, बुधबार १३:०४ मा प्रकाशित ( साल अघि) १२१६ पाठक संख्या

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ-

नेपालमा कोरोना संक्रमण अहिलेसम्म २१७ जनामा देखिएको छ । नेपालसंगै कोरोना संक्रमण देखिएको बंगलादेशमा हालसम्म १६,६००, अफगानिस्तानमा ४९६३, माल्दिभ्समा ९०४, श्रीलंकामा ८८९ जनामा संक्रमण देखिएको छ । तसर्थ हामीहरु अझै पनि बलियो स्थितिमा छौं । सिमानामा ब्यापक कडाइ गर्ने तथा आवतजावत बन्द गर्ने हो भने आन्तरिक रुपमा हामी खतराको अवस्थामा छैनौं 

१. स्विजरल्याण्डको अस्पतालमा कार्यरत डा. बिनय श्रेष्ठ भन्नुहुन्छ – यदि नेपालमा कोरोना संक्रमण जोखिम स्तरमा पुग्यो भने बिदेशमा रहेका हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफ्नो देशमा आएर सेवा गर्न जहिले पनि तयार छौं ।

२. न्युयोर्कमा रहनु भएका तथा कोरोना संक्रमण पोजिटिभ देखिएर निको हुँदै गरेका प्रिय भाइ सरगम भट्टराई भन्नुहुन्छ – तपाईँ आफ्नो घरभित्र बसिरहने र छुट्टै ट्वाईलेट बाथरुम प्रयोग गर्ने हो भने पल्लो घरको छिमेकी त के अर्को कोठामा बस्ने तपाईँकै परिवारको सदस्यलाई कोरोना पोजिटिभ देखिएपनि तपाईँलाई सर्दैन। संक्रमितको संख्या यति पुग्यो भनेर त्रसित नहुनुहोला ।

३. अष्ट्रियाको भिएना निवासी, कोभिडको उपचारमा फ्रन्टलाइनमा काम गरिरहनु भएका प्रिय मित्र सागर सुबेदीले भन्नुहुन्छ – कोरोना संक्रमितसंग १५ मिनेटभन्दा छोंटो कुराकानी गर्दा संक्रमण नसर्न सक्छ । यसको अर्थ क्लोज कन्ट्याक्ट नभएमा नसर्न पनि सक्छ ।

४. कुनै व्यक्तिलाई कोरोना संक्रमण भयो भने उसले औसतमा ३ जनालाई मात्र संक्रमण सार्न सक्छ ।

५. कोरोना संक्रमण लाग्दैमा मृत्यु हुँदैन । ८० % भन्दा धेरै संक्रमितलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १० % अस्पतालको आइसोलेसन वेडमा बसेर लाक्षणिक उपचार गरेपछि निको हुन्छ । बाँकी १० % लाई आइसीयु / भेन्टिलेटर चाहिने हुनसक्छ । त्यसमा बाँकी ७ % लाई निको हुन्छ भने ३ % को मात्र मृत्यु हुनसक्छ । त्यो पनि उमेर र दीर्घरोगमा भर पर्दछ ।

६. नेपालमा कोरोना संक्रमण अन्य देशभन्दा निकै ढिलो सुरु भएको छ । हामीले रोकथामका उपाय, क्वारेन्टाइन, आइसोलेसन, उपचारका धेरै पक्ष, PPE लगायतका सुरक्षा सामग्री आदिको ब्यबस्था गर्न पायौं । त्यो बेला युरोपमा स्वास्थ्यकर्मीलाई मास्कको समेत उपलब्धता थिएन । हामीले त्यो चरम अभाव बेहोर्नु पर्ने छैन ।

७. अहिले चीन कोरोना संक्रमणको चपेटाबाट लगभग मुक्त भएको छ । चीनले ठूलो मात्रामा रोकथामका सामग्री उत्पादन गरेर विश्वलाई सहयोग गरिरहेको छ । यदि नेपालमा कोरोना संक्रमण भयाबह भयो भने पनि चीन, भारत, जापान, कोरिया, युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका देशबाट औषधि उपकरण, जनशक्ति आदि सहयोग लागि हात बढाउने छन् ।

८. यो ४-५ महिनामा कोरोना उपचारले फड्को मारेको छ । इबोला, जापानिज इन्फ्लुएन्जा, मलेरिया, सार्स आदि रोगमा प्रयोग भएका औषधिले राम्रो काम गरेका छन् । यी औषधिको कारण कोरोना संक्रमणबाट गम्भीर हुनेको संख्या निकै कम भएको छ । लाखौँ संक्रमित निको भएका छन् । यी औषधि नेपालमा पनि उपलब्ध छन् / हुनेछन् ।

९. चीन, भारत, इरान, श्रीलंका, मदागास्कर आदि देशले स्थानीय जडिबुटीको प्रयोग गरेर इम्युनिटी पावर बढाउने तथा रोगको उपचार गर्ने अभ्यास गरेका छन् । खास गरेर बेसार, तुलसी, गुर्जो, पाती, दालचिनी, लसुन, मरिच आदिको प्रयोग इम्युनिटी पावर बढाउन सफल देखिएका छन् ।

१०. चीन, अमेरिका, बेलायत, इटाली, इजरायल लगायतका देशहरु खोप परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

११. निको भएको संक्रमितको प्लाज्मा संक्रमितलाई चढाएर उपचार गर्ने प्लाज्मा थेरापी भारत लगायतका देशमा सफल भएको छ ।

१२. संक्रमण बढ्यो भने निश्चित जनसंख्याले हर्ड इम्युनिटी प्राप्त गर्नेछ । यो जनसंख्यालाई कोरोना संक्रमण हुँदैन । भएपनि खतरा हुँदैन ।

१३. हामी घरमै बस्ने, हात धोइरहने, बाहिर जानु परेमा मास्क, चस्मा, पंजा, आउटर लगाउने, स्यनिटाइजर प्रयोग गर्ने तथा ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने हो भने कोरोना भाइरस हामीलाई सर्दैन ।

१४. सरकारले खरिद गरेका, स्विजरल्याण्ड तथा चीनबाट आएका करिब १ लाख परिक्षण किट हामीसंग छ । ती किटलाई पुलिंग मेथडबाट परिक्षण गर्दा दश लाख जनालाई कोरोना संक्रमण परिक्षण गर्न सकिन्छ । यसबाट संक्रमित पत्ता लाग्ने तथा संक्रमितलाई आइसोलेसनमा राख्ने काम गर्दा समुदायमा संक्रमण फैलिन पाउंदैन ।


सम्बन्धित खबरहरु