कोभिड-१९ : स्वास्थ्य सामग्री नहुँदा स्वास्थ्यकर्मीलाई बिरामी नजिक जान डर

कृष्ण दवाडी २१ चैत्र २०७६, शुक्रबार १८:४८ मा प्रकाशित ( साल अघि) ३९० पाठक संख्या

कास्की । उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका लागि अत्यावश्यक मेडिकल मास्क, पञ्जा र तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटर (फायर गन) अझै यहाँ अपुग रहेको छ ।

कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन गाउँगाउँमा क्वारेन्टाइन निर्माण गरी शङ्कास्पद बिरामीलाई क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा राखिएको छ । तर अत्यावश्यकीय स्वास्थ्य सामग्री अभावमा स्वास्थ्यकर्मी बिरामी नजिक जान डराउने अवस्था रहेको जनाइएको छ । मौसमी रुघाखोकी तथा ज्वरोको समय भएकाले अहिले स्वास्थ्य संस्थामा त्यस्ता समस्याका बिरामी धेरै पुग्ने गरेका छन् । रुघाखोकी र ज्वरो सो भाइरसको लक्षणसँग मिल्दोजुल्दो रहेकाले स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री अभाव हुँदा बिरामीसँग नजिक पर्न त्रसित हुने अवस्था आएको बताइएकोे छ ।

सो भाइरसको लक्षण मिल्दोजुल्दो रहेकाले सामान्य रुघाखोकीका बिरामीसँग आफूहरु सजग रहनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीको भनाइ छ । माछापुच्छ«े गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद आचार्यले मौसमी ज्वरो र रुघा खोकीको समय भएकाले धेरै यस्ता बिरामी स्वास्थ्य संस्थामा आउँदा आफूहरुले प्रयोग गरिरहेको डिजिटल थर्मोमिटर प्रयोग गर्ने अवस्था नरहेको बताउनुहुन्छ ।

 

सो भाइरसको जोखिम हुन नदिन केही दूरीमा रहेर एकैपटक धेरैको परीक्षणका लागि इन्फ्रारेड थर्मोमिटर अत्यावश्यक रहेपनि थेरै ठाउँमा पहल गरेपनि हालसम्म प्राप्त नभएको उहाँको भनाइ छ । सामान्य मास्क स्वास्थ्य संस्थामा पु¥याइए पनि मेडिकल मास्क अभाव रहेको बताइन्छ । “सामान्य रुघाखोकीको बिरामीसँग अहिले सजग हुनुपर्ने भएको छ, गन थर्मोमिटरको अभावमा ज्वरो कति आएको छ भनेर हेर्न पनि असमर्थ भइयो । एउटै डिजिटल थर्मोमिटर धेरैलाई प्रयोग गर्दा सङ्क्रमण सर्ने सम्भावना बढी हुन्छ ।” उहाँले भन्नुभयो ।

 

ल्वाङघलेल स्वास्थ्य चौकीका प्रमुख आनन्द बरालले सङ्क्रमित बिरामीको उपचार गर्नुपरेको खण्डमा स्वास्थ्यकर्मी सुरक्षित हुने अवस्था नरहेको बताउँदै प्राप्त दुई थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीई) रेनकोट जस्तो रहेको र पिपीइको मापदण्डअनुसार नभएको बताउनुभयो ।

सामान्य कपडाको मास्कले काम चलाउनुपरेको बताउँदै उहाँले मेडिकल मास्क अहिलेसम्म प्राप्त नभएको उल्लेख गर्नुभयो । अत्यावश्यकीय स्वास्थ्य सामग्रीको अभावमा कोरोना शङ्कास्पद बिरामी आएको खण्डमा पोखरा रेफर गर्नुको विकल्प नभएको बताइन्छ ।

शहरी स्वास्थ्य केन्द्र १८, स्वास्थ्य चौकी १९, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र तथा शिसुवा अस्पताल र दुई वटा आयुर्वेद औषधालय गरी पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत ४३ स्वास्थ्य संस्था छन् । तर अधिकांश स्वास्थ्य संस्थामा एन ९५ मास्क, इन्फ्रारेड थर्मोमिटर तथा पिपीइ अभाव रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

अत्यावश्यकीय स्वास्थ्य सामग्रीका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरेपनि हालसम्म प्राप्त नभएको महाशाखाका सिनियर हेल्थ असिष्टेन्ट हरिलाल आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “स्तरीय मास्क, इन्फ्रारेड थर्मोमिटरलगायत सामग्रीको बजारमा खोजी गरेका छौँ तर पाउने अवस्था छैन । सङ्घ र प्रदेश सरकारलाई समेत भनेका छौँ । हालसम्म प्राप्त भएको छैन ।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले प्रदेश सरकारबाट प्राप्त सीमित मास्क र सेनिटाइजर स्वास्थ्य संस्थालाई वितरण गरेपनि अन्य सामग्री दिन नसकिएको बताउनुभयो । कार्यालयबाट तत्कालै स्वास्थ्य सामग्री खरिद गर्ने अवस्था नरहेको तथा प्रदेश सरकारबाट प्राप्त भएको खण्डमा मात्र स्थानीय तहमा वितरण गर्न सकिने उहाँको भनाइ छ ।

केही दिन पहिला चीनबाट ल्याइएको पिपीइलगायत स्वास्थ्य सामग्री पोखरा आएपनि सामग्री पूर्ण नभएको भन्दै वितरण गरिएको छैन । जिल्लाका अन्य स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थामा अत्यावश्यकीय स्वास्थ्य सामग्री प्राप्त नभएको बताइन्छ । मादी गाउँपालिकामा हालसम्म स्वास्थ्यकर्मीलाई अत्यावश्यक पिपीइ नभएकाले ३२ थान पिपीइ खरिद गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिका बैठकले तत्कालै खरिद गर्ने निर्णय गरेको हो । रासस


सम्बन्धित खबरहरु