सरकारको राहत प्याकेज : एक महिनाको घरभाडा र स्कूल शुल्क मिनाह

ओकेखबर संवाददाता १७ चैत्र २०७६, सोमबार ०७:२१ मा प्रकाशित ( साल अघि) ४७६ पाठक संख्या

काठमाडौं । सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण र रोकथामका लागि भएको लकडाउनको अवधिका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत, खाद्यान्न, स्वास्थ्य उपचारलगायत विषयमा राहत घोषणा गरेको हो।
सरकारले एक सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई दुई महिना (फागुन र चैत) को विद्युत महसुलमा २५ प्रतिशत छुट दिने, खाद्य संस्थानले बेच्ने दाल चामललगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।

सरकारको राहत र सहुलियत मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि बिजुलीसम्मको छ। सँगै सरकारले निजी विद्यालयलाई चैत महिनाको शुल्क र सहरी क्षेत्रका घरबेटीलाई असंगठित श्रमिकले भुक्तान गर्नुपर्ने एक महिनाको भाडा मिनाहा गर्न भनेको छ।

सरकारले मुलुकभर कोरोनाको सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै लकडाउनको समय चैत २५ गतेसम्म थप गरेको छ। मन्त्रिपरिषद्को बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी लकडाउनको समय थप गरेको हो।


सम्बन्धित खबरहरु