विदेशबाट फर्किएका २९७ जना होम क्वारेन्टाइनमा

ओकेखबर संवाददाता १४ चैत्र २०७६, शुक्रबार १५:१६ मा प्रकाशित ( साल अघि) ३६० पाठक संख्या

दमौली । तनहुँमा दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २९७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार ती व्यक्तिहरु सुरक्षितरूपमा घरमा नै बसिरहेका छन् । जिल्लाका प्रत्येक वडामा पुगेर जनप्रतिनिधिले विदेशबाट आउनेको विवरण सङ्कलन गरिरहेका छन् ।

नजिकका स्वास्थ्य संस्थामा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि होम क्वारेन्टाइनमा राखिएको अधिकारीले जानकारी दिनुभयो । “कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको छैन, तैपनि विदेशबाट आएको हुनाले सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ,” अधिकारीले भन्नुभयो ।

जिल्लाका ३४ स्थानमा क्वारेन्टाइन बनाइएको छ तर ती क्वारेन्टाइनमा भने अहिलेसम्म कसैलाई पनि राखिएको छैन । त्यस्तै व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

भीमाद नगरपालिकामा विदेशबाट फर्किएका ९८ जना होम क्वारेन्टाइनमा बसेका छन् । ती व्यक्ति विभिन्न १३ देशबाट दुई साताको अवधिमा घर फर्किएको खुल्न आएको छ । यस्तै कोरोना सङ्क्रमित १९ वर्षीय युवती सवार कतार एयरवेजमा तनहुँका एक यात्रु भएकोे पुष्टि भएको छ । उक्त उडानमा तनहँुको भीमाद घर भई पोखरा बस्ने गुरुङ थरका एक व्यक्ति रहेको पुष्टि भएको र उनी हाल पोखरामा क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

त्यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा विदेशबाट फर्किएका ६५ जना भेटिएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवका अनुसार नगरपालिकाको १२ वटै वडामा विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन गरिएको छ । भारत, दुबई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का लगायतबाट उनीहरु घर फर्किएका छन् ।

उहाँका अनुसार शुक्लागण्डकी नगरपालिका–१ मा तीन, वडा नं २ मा एक, वडा नं ३ मा आठ, वडा नं ४ मा एक, वडा नं ६ मा पाँच, वडा नं ७ मा नौ, वडा नं ८ मा सात, वडा नं ९ मा छ, वडा नं १० मा १७, वडा नं ११ मा एक र वडा नं १२ मा सात जना विदेशबाट फर्किएका छन् । वडा नं ५ को तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । “हालसम्म उनीहरु सबैको अवस्था सामान्य रहे पनि सबैलाई सुरक्षितरूपमा होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौँ”, श्रीवास्तवले भन्नुभयो ।

म्याग्दे गाउँपालिकामा विदेशबाट फर्किने १७ जना भेटिएका छन् । म्याग्दे गाउँपालिका–१ मा दुई, वडा नं २ मा सात, वडा नं ४ मा तीन, वडा नं ५ मा दुई, वडा नं ६ मा दुई र वडा नं ७ मा एक जना विदेशबाट फर्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । उनीहरु भारत, जापान, अष्ट्रेलिया, साउदी, कतारबाट फर्किएका हुन् । उनीहरुलाई स्वास्थ्य परीक्षणपछि घरमै सुरक्षितरूपमा बस्न आग्रह गरिएको नागिलाले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु