रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात शुरु गरिने

ओकेखबर संवाददाता १२ चैत्र २०७६, बुधबार २३:०२ मा प्रकाशित ( साल अघि) ३८१ पाठक संख्या

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य शुरु गर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गर्दै यस सम्बन्धी आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने जनाएको छ ।

यसैगरी समितिले अति आवश्यक बैंकिङ सेवा गृह र अर्थ मन्त्रालयको समन्वयमा नाका सञ्चालन गर्ने, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने तथा यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय गरेको छ ।

औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्नुपर्ने तथा गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने बैठकले निर्णय गरेको छ ।


सम्बन्धित खबरहरु