ट्राफिक प्रहरी यात्रु बनेर स्टिङ्ग अपरेशन, बढी भाडा असुल्ने १७ चालक पक्राउ

ओकेखबर संवाददाता ८ चैत्र २०७६, शनिबार २०:५५ मा प्रकाशित ( साल अघि) ७४३ पाठक संख्या

काठमाडौं । कोरोनाको त्रासले गाउँघर फर्किन लागेका यात्रुसंग मनोमानी रुपले भाडा असुल्ने १७ चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारवाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र सङ्ग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जारबहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, विजय तामाङ, नील बुढाथोकी, सञ्जीव भण्डारी, प्रदीप लामा, कृष्ण माझी, विनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ रहेका छन् ।

प्रमुख ढकालले सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताउनुभयो । यसका लागि महाशाखाले पीडित सहायता इकाइबाट सादा पोसाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरिएको थियो । गाडी चढ्नुअघि कतिपय यात्रुलाई ‘कन्भिन्स’ गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ ।

यसअघि महाशाखाले शुक्रबार पनि नौजना पक्राउ गरी आवश्यक कारवाही गरेको थियो । कोभिड– १९ को जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाले विशेष सेवा प्रदान गरिरहेको जनाएको छ ।


सम्बन्धित खबरहरु