थ्री स्टारलाई पराजित गर्दै पुलिस क्लब आहा राराको उपाधि नजीक

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार २१:०१ मा प्रकाशित ( साल अघि) २६७ पाठक संख्या

कास्की । नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै पुलिस क्लब प्रतियोगिताको उपाधि नजीक पुगेको हो ।

पुलिसले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भई अधिकांश समय खेलमा पकड जमाएको थियो । खेलको आठौँ मिनेटमा रवि पासवानको ‘क्रसपास’लाई सदुपयोग गर्दै पुलिसका भरत शाहले टोलीलाई अग्रता दिलाउनुभयो । पहिलो हाफमा एक शून्यले अग्रता लिएको पुलिसले खेलको ५१औँ मिनेटमा निरकुमार राईको गोलमार्फत अग्रता दोब्बर बनायो । राईले मैदानको दायाँ साइडबाट पहिलो बार च्यापेर प्रहार गरेको बल किपरले पञ्च गर्ने क्रममा पोष्टभित्र छिरेको थियो ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित राईले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो । तेज तामाङले मैदानको करीब मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी क्षेत्रमा मिलाइदिएको पासलाई सदुपयोग गर्दै राईले गरेको प्रहारले जाली चुमेको थियो ।

खेलमा साबिक विजेता थ्री स्टार क्लबले समेत गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन । शुरुदेखि नै पुलिसको आक्रामक प्रदर्शनका कारणले थ्री स्टार खेलमा लगातार दबाब परेको थियो । पुलिसका खेलाडीले तीव्र गतिमा छरितो प्रदर्शन गर्दैै विपक्षी टोलीलाई दबाब दिएका थिए ।

पुलिसले क्याराभान गोल्डकपसहित हालसम्म छपटक आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । विसं २०५८ मा क्याराभानको उपाधि जितेको पुलिस हालसम्म १० पटक फाइनल प्रवेश गरेकामा पहिलो, छैटौँ, सातौँ, आठौँ र सोह्रौँ संस्करणको उपाधि जित्न सफल भएको छ । पुलिसले अब बिहीबार हुने मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लबबीचको खेलको विजेतासँग चैत १ गते उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।

खेलपछिको पत्रकार सम्मेलनमा थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले पुलिसको जुनियर खेलाडीको टोलीले निर्धारित समयसम्म गतिका साथ उत्कृष्ट खेल प्रदर्शन गरेको र जीतको स्वाभाविक दाबेदार रहेको बताउनुभयो ।

शहीद स्मारक लिगपछि क्लबले युवा खेलाडी सामेल गरेर मोफसलका प्रतियोगिता खेल्दै आएको बताउँदै पुलिसको गतिलाई रोक्न आफ्नो टोली असफल भएको उहाँको भनाइ थियो । पुलिसका प्रशिक्षक अनन्त थापाले थ्री स्टार राम्रो टोली रहे पनि यसपटक विदेशी खेलाडी नहुँदाको फाइदा भएको उल्लेख गर्दै आफ्नो युवा टोलीले अब उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

फाइनल खेलमा जुन टोली परे पनि फरक नपर्ने उल्लेख गर्दैै उहाँले उपाधिका लागि शत्प्रतिशत मेहनत गरेर खेल्ने उल्लेख गर्नुभयो । सहारा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।


सम्बन्धित खबरहरु