कोरोनालाई पराजित गर्दै चीन : सामान्य बन्दै जनजीवन

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार ०७:४९ मा प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

बेइजिङ । केही हप्ता अघि चिनको वुहानमा एउटा भाइरस फैलियो, कोरोना भाइरसको संक्रमणले दैनिक रुपमा संयौंको मृत्यु र हजारौंको संख्यामा संक्रमित हुँदै गए । यो संक्रमण नियन्त्रण त परको कुरा झन झन विश्वभर आक्रामक रुपले फैलिदै गयो । विश्व स्वास्थ्य संगठनले नाम दिएको कोभिड १९ को संक्रमण विश्वका १ सय १२ देशमा फैलियो ।

तर कोरोना भाइरसको संक्रमणले चपेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ । केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ संक्रमितको संख्या एकदम न्यून छ । वुहान लकडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दैगएको छ । चीन आकस्मिक र कठिन युद्ध बनेको कोभिड–१९ माथि विजय निकट पुगेको हो ।

त्यसो त वुहानमा सभा हल तथा खेल भवनमासमेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट बन्द गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । महामारीले उग्र रूप लिएको बेला वुहानमा रातारात हजार शैय्याका दुई अस्पतालसमेत निर्माण गरेको थियो । यसै बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा खटेका स्वास्थ्यकर्मी तथा बिरामी सबैलाई हौस्याएका छन् ।

हाल वुहानको स्थिति पनि नियन्त्रणमा आइसकेको छ । यसै गरी चीनका विभिन्न सहर र प्रान्तको आर्थिक र सामाजिक जीवन पनि सामान्य बन्दै गएको छ । चीनभर कोभिड–१९ महामारीको नियन्त्रण तथा प्रतिरोधका कामहरूसँगै कलकारखानामा काम पुनः सुरू भइरहेका छन् ।

मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला परियोजना पुनः सुरु गराउने योजना रहेको बताइएको छ । यसै गरी क्वाङ तुङ प्रान्तको सदरमुकाम क्वाङचौ सहरमा वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसाय पुनः शुरू भएको दर ९९.५ प्रतिशत पुगिसकेको छ । यसै चीलिन प्रान्तभर वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका व्यवसाय पुनः सुरू भएको दर ९६.७ प्रतिशत पुगेको छ ।

कतिपय क्षेत्रमा पर्यटनस्थलसमेत खोलिसकेका छन् । सार्वजनिक यातायात तथा सार्वजनिक स्थलमा सकेसम्म स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै भिड नगर्न र एकआपसबीच एक मिटरको दूरी राख्न पनि आह्वान गरिएको छ । साथै स्वास्थ्य सुरक्षा र नियन्त्रणका लागि कतिपय कार्यालय रिमोट वर्कको अवधारणामा सञ्चालित छन् भने शिक्षण संस्था पनि अनलाइनमार्फत चलिरहेका छन् ।

चीनको शिक्षा मन्त्रालयले चीन सरकारले महामारी पूर्ण नियन्त्रणमा आइसकेको घोषणा तथा अभिभावकको स्वीकृति र शिक्षण संस्था जोखिम रोकथाम र नियन्त्रणका लागि पूर्ण तयार भएपछि मात्र शिक्षण संस्था खोल्ने जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार, चीनमा ८० हजार ७ सय ५४ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यी संक्रमितमध्ये ५९ हजार ८ सय ९७ जनाको सफल उपचार भइसकेको छ ।

यसले ३ हजार १ सय ३६ जनाको ज्यान लिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ९ तारिख १९ जना (उहान १७ जना) संक्रमित थपिएका छन् । यस बाहेक विदेशबाट आएका दुई व्यक्ति कोभिड–१९ संक्रमत भएको पुष्टि भएको छ । योसँगै चीनभित्र विदेशबाट आएका निश्चित संक्रमितको संख्या ६९ पुगेको छ ।


सम्बन्धित खबरहरु