हिंसा सहन नसकेर धादिङकी सञ्जुले गरिन् आत्मह-त्या

ओकेखबर संवाददाता २२ फाल्गुन २०७६, बिहीबार १९:०० मा प्रकाशित ( साल अघि) ११८१ पाठक संख्या

विदुर । जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आत्मह*त्या गर्नुपरेको छ । नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि तिनको सत्र वर्षमै विवाह भएको थियो । मनोपरामर्शको सेवा प्रदान गर्ने तथा महिलाका विषयमा वकालत गर्ने सङ्संस्था पनि सो विषयमा अनभिज्ञ रहेको देखिन्छ ।

धादिङको चरौदी माइती भएकी सञ्जु खातीको ढुङ्गेमा गत भदौमा परिवारको सरसल्लाहमा मागी विवाह भएको थियो । सञ्जुका श्रीमान् २६ वर्षीय मौसमले विवाह भएको केही महिना नबित्दै उनलाई अनेक शारीरिक तथा मानसिक हिंसा, लाञ्छना, शङ्कालगायत तनाव दिँदै आइरहेको छिमेकी बताउँछन् ।

सञ्जुका घरमा सधैँजसो झगडा, वादविवादलगायत कलह दिनहुँ भइरहने गर्थ्र्यो । बुधबार राति करीब ९ बजे खातीका छिमेकीले खोलामा एक्कासि ठूलो आवाजले केही खसेको सुनेर बाहिर निस्किँदा उनका सासूससुरा र देवरानी रुँदै गुहार माग्दै त्रिशूली किनारमा दगुरेको देखेपछि हेर्दा सञ्जु नदीमा हाम्फालेकी रहिछन् ।

घाइते सञ्जुलाई नदीबाट निकालेर जिल्ला त्रिशूली अस्पताल लाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले सञ्जुका माइती र आफन्तलाई खबर गरेको र उनीहरु आएपछि मात्र शव परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ । हाल शव त्रिशूली अस्पतालमा छ ।

सञ्जु र उनका पति मौसमबीच बुधबार रात श्रीमान्ले चुरोट पिएका विषयमा सामान्य मनमुटाव भएको सासू पविताले जानकारी दिनुभयो । महिला मानवअधिकार रक्षक जिल्ला सञ्चालकका अध्यक्ष अञ्जली पाण्डेले महिला हिंसा रोकथाम गर्न विद्यालयमा नै गएर बालविवाह न्यूनीकरण, महिला हिंसाविरुद्धको अभियान चलाउनुपर्ने बताउनुभयो । पाण्डेका अनुसार बालविवाहले पनि यस्ता घटना भएका हुन् । बालविवाह रोक्न नुवाकोटमा अभियान चलाइए पनि बालविवाह गराउन परिवार नै बढी सक्रिय छन् ।

अन्तर्पार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष विन्दा ढुङ्गानाले महिला हिंसामा परेका पीडितका लुकेका घटनाले ठूलो रुप लिइरहेको बताउनु भयो । उहाँका अनुसार पीडितले आफ्ना पीडा लुकाएको थाहा भएको छ । आफूलाई परेको पीडा र हिंसा समाजमा खुलेर भन्न नसक्नाले पनि धनजनको क्षति हुने गरेको उहाँले बताउनु भयो ।

हिंसा रोक्न नयाँ तरिकाको अभियान चाल्नुपर्ने उहाँको सुझाव छ । “सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, महिलाका लागि काम गर्ने सङ्सस्था र सरोकार पक्षको यसमा बढी भूमिका हुनुपर्छ”, उहाँले भन्नुभयो ।


सम्बन्धित खबरहरु