कोरोनाका कारण भारतले यी २६ औषधि निर्यात सीमित गर्‍यो, विश्वमा अभाव हुने त्रास

ओकेखबर संवाददाता २१ फाल्गुन २०७६, बुधबार २१:५७ मा प्रकाशित ( साल अघि) ४४८ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको कारण केही औषधिको निर्यात सीमित गर्ने भारतको फैसलापछि विश्वभरि ती औषधिको कमी हुने आशङ्का गरिएको छ ।

भारत विश्वमा सामान्य औषधिको आपूर्ति गर्ने सबैभन्दा ठूलो देश हो । भारतले २६ वस्तु र ती वस्तुबाट बन्ने औषधिको निर्यात सीमित गरेको छ ।

भारतले निर्यात सीमित गरेको औषधिमा पारासिटामोल पनि हो । दुखाइ कम गर्ने यो औषधि विश्वमा धेरै मात्रामा प्रयोग हुँदै आइरहेको छ ।

औषधि बनाउन चाहिने सामग्रीको उत्पादन चीनमा ठूलो मात्रा हुने गर्दछ । तर अहिले कोरोनाका कारण चीनमा उत्पादन बन्द छ या निर्यातमा कटौति गरिएको छ ।
भारतका औषधि बनाउने कम्पनीहरु आफ्नो उत्पादनको लागि चिनियाँ सामग्रीमा ७० प्रतिशतसम्म निर्भर रहेका छन् ।

यदि कोरोना भाइरसको महामारी चलिरह्यो भने औषधि बनाउने कम्पनीहरुले सामग्री कमी हुने स्थितिको सामना गर्न अवस्था आउन सक्ने विश्लेषकहरुले चेतावनी दिएका छन् ।

चाइना मार्केट रिसर्च ग्रुपका विश्लेषक शाउन रीन भन्छन्, ‘चीनमा नबन्ने औषधि बनाउन चाहिने सामग्री पनि चीनबाट नै आपूर्ति हुन्छ । यदि भारत र चीन कोरोनाको चपेटामा आए भने विश्वभरि नै औषधिको अभाव हुन सक्छ ।’

भारत सरकारले भने आफ्नो घोषणालाई लिएर शान्त रहन आग्रह गर्दै आफूसँग तीन महिनाका लागि औषधिहरुको स्टक रहेको बताएको छ । एजेन्सी


सम्बन्धित खबरहरु