कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउन कांग्रेसको अपील

ओकेखबर संवाददाता १९ फाल्गुन २०७६, सोमबार १८:४४ मा प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

काठमाडौं । विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सतर्कता अपनाउन अपिल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता रहेको उल्लेख गर्नुभयो ।

“प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको डँका बजाइरहेका बेला मुलुकले सतर्कताको पर्याप्त पूर्वतयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ”, उहाँले भन्नुभयो, “यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि काँग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था र समस्त नेपालीमा अपिल गर्दछ ।”

काँग्रेसले विश्व स्वास्थ सङ्गठन ९डब्लूएचओ० ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न सरकारसँग आग्रह गरेको छ । कोरोना संक्रमित मुलुकको सूची जारी गरेर ती देशमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाउन र संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन काँग्रेसले आग्रह गरेको छ ।

साथै ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न उहाँले माग गर्नुभयो । केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढङ्गले अघि बढाउन प्रवक्ता शर्माले सुझाव दिनुभयो ।

“संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीले जोखिमपूर्ण ढङ्गले उपचार र उद्धारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ, त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीलाई विशेष ढङ्गको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस्”, उहाँले भन्नुभयो ।

कांग्रेसले संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पु¥याउन, मास्क पर्याप्त प्रबन्ध गर्न, संक्रमण भित्रिएर फैलिएको खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ । चीनको वुहान शहरबाट १८० नेपालीलाई उद्धार गरेर ल्याउन दुई साता लामो छलफल, अन्यौल र विवाद भएको स्मरण गर्दै उहाँले ठूलो सङ्ख्यामा नेपाली रहेकोे दक्षिण कोरिया लगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढङ्गले फैलिएको र त्यहाँ रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न तथा अत्यावश्यक परे उद्धार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ सोबारेमा तत्काल विमर्श गर्न आग्रह गर्नुभयो ।

प्रवक्ता शर्माले वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौँ क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा काम गर्नुपर्ने र कोरोना संक्रमणबाट पूर्वसतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमको समुचित प्रयोग गर्ने कार्यमा सरकारले ध्यानाकर्षण गराउनुभयो । काँग्रेसले जोखिम सामना गर्न कुनै पनि कमजोरी र सम्झौता नगर्न सरकारलाई सार्वजनिक आग्रह गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि अपिल गरेको छ ।


सम्बन्धित खबरहरु