‘मर्नुपरे देशमै मरौंला, मुलुक छोड्ने कल्पना पनि गरेको छैन्’ : सुजाता कोइराला

ओकेखबर संवाददाता १५ फाल्गुन २०७६, बिहीबार ०९:५७ मा प्रकाशित ( साल अघि) ३३१ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले देशले दिएको इज्जत र प्रतिष्ठाको गुन तिर्न धेरै बाँकी रहेको भन्दै आफुले मातृभुमी छोड्ने कल्पना समेत नगरेको बताएकी छन् ।
कोइरालाले आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै आफुले मुलुक छोड्ने भन्ने हल्ला चलाइएको बताइन् । कोइरालाले भनिन्– ‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो । मेरा लागि सबैभन्दा प्रिय यो देश हो म कसरी छाड्न सक्छु ? मर्नुपरे पनि नेपालमै मरौंला ।’ कोइरालाले मुलुक छोडेर बेलायतमा बस्ने तयारी गरेको भन्दै केहि संचामाध्याममा समाचार आएपछि कोइरालाले आफूलाई निकै इज्जत र प्रतिष्ठा दिने मुलुकलाई छाड्ने कल्पना पनि नगरेको स्पष्ट पारिन् ।
नेतृ कोइरालाले नेपाल र नेपालीको मायाले आफू क्यान्सर मुक्त भई नयाँ जीवन पाएको बताउदै भनिन्– ‘मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ । उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु । बाँकी जीवन पनि नेपाल र नेपालीको सेवामा समर्पित भइरहेकी छु ।’ नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने बताइन् । नेपाल सुन्दर भएपनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दुःख पाइरहेको उनको भनाई थियो ।

देश र जनताको सेवा गर्ने आफ्नो मन देखिको चाहना रहेको बताइन् । उमेर बढ्दै जाँदा पनि सक्रिय जीवनयापन गरिरहेको उनको भनाई थियो । सामाजिक काममा आफू बढी केन्द्रित भएको र देशले आवश्यकता ठानेमा राजनीतिक नेतृत्व लिन पनि तयार रहेको बताइन् । आफूले निरंकुशतासँग देशमै बसेर लडेको स्मरण गराउँदै कोइरालाले देशका लागि अझै योगदान गर्न तयार रहेको बताइन् ।

आफूलाई नेपालमा जुन प्रतिष्ठा र इज्जत मिलेको छ त्यसको गुन तिर्न बाँकी रहेको बताइन् । नेतृ कोइरालाले भनिन्–‘मैंले पदमै बसेर मात्र शक्तिशाली भइन्छ भन्ने ठानेकी छैन, देशका लागि आफू जुन स्थानमा रहिन्छ त्यहींबाट पनि सेवा गर्न सकिन्छ ।’ सकारात्मक सोच र चिन्तनका साथ आफू नेपालमा बसेर सेवाभावका साथ सक्रिय भइरहने बताइन् ।


सम्बन्धित खबरहरु