ट्रम्प भारत भ्रमणका क्रममा दिल्लीमा चर्कियो हिंसा, मृतकको संख्या २० पुग्यो

ओकेखबर संवाददाता १४ फाल्गुन २०७६, बुधबार १२:५५ मा प्रकाशित ( साल अघि) ५७७ पाठक संख्या

काठमाडौं, १४ फागुन । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । गुरु तेग बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील गौतमलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार २० जनाको ज्यान गइसकेको छ भने १८९ जना घाइते छन् ।

दिल्ली उच्च अदालतले मध्यरातमा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको छ । उच्चअदालतका न्यायाधीशद्वय एस मुरलीधर र अनुन भंवानीले राति साढे बाह्र बजे मानवअधिकारवादी वकील सुरुर मंदरको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।
अदालतले अल–हिंद अस्पतालमा उपचाररत घाइतेहरूलाई जीटीबी अस्पताल वा त्यहाँ लैजान नसक्ने हो भने एलएनजेपी, मौलाना आजाद अस्पताल वा अन्य सरकारी अस्पतालमा लैजान भनिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दुई दिने भारत भ्रमणका क्रममा दिल्लीका विभिन्न क्षेत्रमा थप हिंसा चर्किएको हो ।

नरेन्द्र मोदी सरकारले तीन महिनाअघि नागरिकता ऐनमा संशोधन गरेपछि त्यसको विरोधमा भारतभर प्रदर्शन हुँदै आएको छ । दिल्लीको साहिन वागमा दुई महिनादेखि प्रदर्शन भएको थियो । उक्त प्रदर्शनप्रति भारतीय जनता पार्टीका कार्यकर्ता सुरुदेखि नै असन्तुष्ट थिए ।


सम्बन्धित खबरहरु