रुकुम पश्चिम । ठूलीभेरी नदी वारपार गर्न तल्लु–छोटेबगरमा पुल छैन । तर पनि वारिका गाडी पारि पुग्छन्, पारिका गाडी वारि आउँछन्– तुइनमा झुन्डिएर । सवारीधनीले पारि लगे ६० हजार र वारि ल्याए ३० हजार रुपैयाँ तुइन सञ्चालकलाई तिर्छन् ।
जाजरकोट–डोल्पा सडकअन्तर्गत तल्लु–छोटेबगर खण्ड जोड्न गाडी तार्नकै लागि तुइन बनाइएको हो । तुइनमा झुन्ड्याएर गाडी आठबीसकोट नगरपालिका–४ छोटेबगरसम्म ल्याउने गरिएको हो ।छोटेबगरदेखि डोल्पासम्म गाडी चल्छ ।
कान्तिपुर दैनिक लेख्छ, डोल्पा–जाजरकोट सडकको छोटेबगर–डोल्पा खण्डको ट्र्याक खुलेपछि २०७१ सालमा तुइन बनाइएको हो । आठबीसकोट नगरपालिका–४, ५ र ६ का स्थानीयले आफ्नै लगानीमा तुइन निर्माण गरेका हुन् । नदीमाथि तुइन जडान गर्न १७ लाख ५० हजार रुपैयाँ लगानी भएको स्थानीय घनश्याम भण्डारीले बताए । भण्डारी, कमल थापा, यज्ञराज खड्का, हेमन्त विष्ट र चंखलाल भण्डारीलगायत नौ जनाले साझेदारीमा तुइन चलाएका हुन् ।