कोरोना भाईरसको खोप बनाउन अझै समय लाग्ने

ओकेखबर संवाददाता १ फाल्गुन २०७६, बिहीबार १०:०१ मा प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

काठमाडौं । गएको डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसका कारण चीनमा ११ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । ४४ हजार ६ सय जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

कोरोनाविरुद्ध लड्न चार वटा खोप बनाउने योजनामा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले खोप बनाउने तयारी भए पनि केही समय लाग्ने बताईन ।

भ्याक्सिन बनाउन सकिने तर यसका लागि केही समय लाग्न सक्ने भन्दै उनले यो एकै रातको काम नभएको बताईन । चीनमा ४२ हजारभन्दा बढीमा देखिएको यो भाइरसको सङ्क्रमण २५ भन्दा बढी देशमा पनि देखिइसकेको छ ।

तर भाइरसका सङ्क्रमितको सङ्ख्या घट्न थालेका छन् । सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि कोरोना भाइरसको महामारी तत्काल अन्त्य हुने घोषणा गर्न अहिले धेरै चाँडो हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकामा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका चिनियाँ अधिकारीले बताएका छन् ।


सम्बन्धित खबरहरु