मादल बनाउन छाला र उसिको काठ अभाव

ओकेखबर संवाददाता २२ माघ २०७६, बुधबार २२:५९ मा प्रकाशित ( साल अघि) २७६ पाठक संख्या

तनहुँ । मादल बनाउने कच्चा पदार्थ छाला र उतिसको काठ अभाव हुँदै जान थालेपछि माइला दाईले परिचित ५५ वर्षीय डिलबहादुर सार्कीलाई अहिले पुख्यौली पेशा जोगाउन हम्मे हम्मे भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित ‘माइला मादल पसल’ सञ्चालक ‘माइला दाई’ ले परिचित उहाँ आफ्नो पुख्यौली पेशाको बिँडो जसोतसो थाम्दै आउनुभएको छ ।
एकातिर कच्चा पदार्थको अभाव अर्कोतिर आधुनिक बाजागाजाले मादल बनाउने पेशा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । दीपावलीमा देउसीभैलोको समय अलि अलि मादल बिक्री हुन्छ । उहाँले भन्नुभयो, “मैले बुबा स्व थमनसिंले मादल बनाएको हेरी हेरी मादल बनाउन सिकेर यस पेशालाई अगाल्दै आएको हुँ ।” पछिल्लो समय यस पेशाबाट परिवार पाल्न पनि धौ धौ हुने गरेको उहाँले गुनासो गर्नुभयो । शुक्लागण्डकी नगरपालिका क्षेत्रमा उहाँ एक मात्र मादल व्यवसायी हुनुहुन्छ । ग्राहकको चाहाना अनुरुप मादल, सारङ्गी, ड्रमसेट, खैजडी, झ्याली मुजुरालगायत नौमती पञ्चेबाजाका सबै सामग्री उपलब्ध गराउँदै आएको छु । उहाँले भन्नुभयो, “नौमती पञ्चेबाजका नर्सिया र सन्नाई अन्य स्थानबाट ल्याएर भए पनि यहीबाट उपलब्ध गराउँदै आएको छु ।”

बाद्यबाजनको छाला र उतिसको काठ आवश्यक पर्ने हुँदा पर्याप्त मात्रामा पाउन नसकिएको उहाँले गर्नुभयो । गत वर्ष डेढ÷दुई लाखको मादललगायत सामग्री बिक्री गरेको भए पनि यस वर्ष मुश्किलले डेढ लाख बराबरको सामग्री बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष सिलगढीबाट रु तीन लाख मूल्य बराबरको छाला ल्याउँदै गर्दा त्रिशूलीमा ट्रक खस्दा नोक्सान व्यर्होनुपरेको दुखेसो पोख्दै उहाँले भन्नुभयो, “कही कतैबाट सहयोग पाउन नसक्दा व्यवसाय सञ्चालनमा समेत समस्या भएको छ ।”
उहाँ स्याङ्जाको चिन्नेबासबाट विसं २०६५ मा दुलेगौडामा बसाईसराई गरी आउनुभएको थियो । उहाँले पञ्चमुनिदेव, खैरेनी तथा अरनिको माध्यमिकलगायत करीब एक दर्जन सामुदायिक तथा निजी विद्यालयमा मादल तथा आर्थिक सहयोग गर्दै आउनुभएको जानकारीदिनुभयो ।
स्थानीय तहबाट उपेक्षित मरेका वस्तुको छाला पाउनको लागि पटक पटक स्थानीय तहमा निवेदन दिँदा कुनै चासो नदेखाएको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले मरेका पशुको छाला काढ्न दिने अधिकार स्थानीय तहलाई नभएकोले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु