भारतीय नक्सा प्रकरणमा प्रधानमन्त्री गम्भीर, छलफलका लागि शनिबार बोलाए सर्वपक्षीय बैठक

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:२३ मा प्रकाशित ( साल अघि) ७३५ पाठक संख्या

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन् ।

भारतले आइतबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले यस विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरु तथा सरोकारवालालाई बैठकमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार बैठक शनिबार ४ बजे बस्ने भएको छ ।
भारतले जारी गरेको नक्साको व्यापक विरोध भइरहेको छ । तर, भारत सरकारले भने नयाँ नक्सामा नेपाल(भारत सीमामा कुनै परिमार्जन नगरेको दाबी गरेको छ ।

नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सीमाका सम्बन्धमा एकतर्फी गरिने निर्णय मान्य नहुने बताएको थियो ।
बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई टेलिफोन गरी कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमिको भएको तथ्य स्मरण गराएका थिए ।
नेकपाकै केही नेताहरुले यसबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । तर, सत्तारुढ पार्टी नेकपाले भने यस विषयमा आधिकारिक धारण सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्री ओलीसमेत यस विषयमा मौन बसेको भन्ने आरोप लागिरहेका बेला उनले सर्वपक्षी बैठक बोलाएका हुन् । बाह्रखरी


सम्बन्धित खबरहरु